अति संक्षिप्त उत्तरात्मक प्रश्नहरू
दिइएको अनुच्छेदमा रेखाइकन गरिएका शब्दहरूको अक्षर संरचना देखाई अक्षर सङ्ख्यासमेत देखाउनुहोस् : [३]
पोखरा पर्यटकीय दृष्टिले नेपालको सुन्दर सहरमा गनिन्छ । हरेक नेपाली त्यहाँ पुगेपछि स्वर्गीय आनन्दको अनुभव गर्दछन् ।
दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : [३]
बर्तमान नेपाल का नयाँ चुनौतीमध्ये ज्येस्ट नागरिकहरूको भविष्य व्यवस्थापन पनी टड्कारो छ उहिलेको संयुक्त परिवार अहिले छिन्नभिन्न छ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [२] (क) दिइएको अनुच्छेदबाट एउटा पारिभाषिक शब्द र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
भूगोलमा अक्षांश र देशान्तरका विषयमा पनि अध्ययन गर्नुपर्छ । विद्यार्थीहरूले खुरुखुरु पढ्नुका साथै वैज्ञानिक अनुसन्धान र आविष्कारका विषयमा समेत चासो दिँदा म खुसीले गदगद हुन्छु । (ख) दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा टुक्का पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
हुने हार दैव नटार भन्छन् । सधैँ निराश हुनुभन्दा आफ्नो नाक राख्ने कामतिर लागेर हुने बिरूवाको चिल्लो पात भन्ने कुरालाई पनि त मनन गर्नुपर्यो नि । हामी सबै आफ्नो टाउको जोगाउने कुरामा पनि सचेत त बन्नैपर्यो ।
दिइएको अनुच्छेदमा रेखाइकन गरिएका शब्दहरूको पदवर्ग पहिचान गरी लेख्नुहोस् : [३]
त्यो केटो एक्कासि बाटामा लड्यो अनि हामी नजिकै गयौँ । हामीले एम्बुलेन्स फिकायौँ । अस्पताल लगेर उपचार गरेपछि उसको होस खुल्यो ।
दिइएको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : [२]
शीतल वायुमा आनन्द मान्दै कम्प्युटर चलाउदै गरेको हर्केले जीवनमा आत्मीय मित्र फेला पारेपछि उसलाई एउटा मोबाइल र ब्याग पनि उपहार दिएको रहेछ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस्
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [३] (क) दिइएको अनुच्छेदबाट तीनओटा उपसर्ग व्युत्पन्न र तीनओटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् :
प्रत्येक मानिसले जीवन सुखमय बनाउने सपना बुनेको हुन्छ । ऊ सुनौलो भविष्यको सपना पूरा गर्न निरन्तर सङ्घर्ष गर्छ । सत्कर्मबाट प्राप्त सफलता र सम्पत्ति अत्यन्त प्यारो हुन्छ । सफलता प्राप्त गर्न चाहनेले कठिनतम परिस्थितिको पनि सामना गर्नुपर्छ । (ख) दिइएको अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा द्विरुक्त व्युत्पन्न शब्द पहिचान गरी समस्त शब्दको विग्रह र द्विरुक्त व्युत्पन्न शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् :
जगन्नाथ र पुरुषोत्तमले आवश्यक मालताल जोडजाड गर्न सोझखुट्टेमा भेटघाट गर्ने सरसल्लाह गरेछन् । मुसलधारे पानीमा रुभेर पनि उनीहरूलाई भेट्न गरगहनाले सजिएर ठुल्यामा र भान्दाइ टुप्लुक्क आइपुग्नुभएछ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) ले, लाई, बाट, देखि, को, रो, नो र मा विभक्ति चिह्न प्रयोग गरी आफूले गरेको रमाइलो यात्रालाई चारओटा वाक्यमा वर्णन गर्नुहोस् । (ख) दिइएको अनुच्छेदमा दिइएका वाक्यहरूलाई एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
मेरो भाइ विद्यालय जान्छ । ऊ असल र ज्ञानी छ । बहिनीहरू मिलेर बस्छन् । उनीहरूले परिवारको इज्जत राखेका छन् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) सामान्य भूतकालका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नो मातृभूमिका बारेमा चार वाक्यको एक अनुच्छेद लेख्नुहोस् । (ख) वाच्य परिवर्तन गर्नुहोस् :
पवन कृषि व्यवसायमा लागेको छ । उसले बहुवर्षे बाली रोपेको छ । ऊ तरकारी व्यवसायबाट मनग्य आम्दानी गर्छ । उसले परिवारमा खुसी बाँडेको छ ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) दिइएका चारओटा सरल वाक्यलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस् :
आदिकवि भानुभक्त आचार्य तनहुँमा जन्मेका हुन् । भानुभक्तले रामायण लेखे । उनले नेपाली भाषा र साहित्यको सेवा गरे । उनको नाम नेपाली साहित्यमा अमर छ । (ख) दिइएका अप्रत्यक्ष कथनका वाक्यहरूलाई प्रत्यक्ष कथनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
कृष्णले मुनासँग पुस्तकालय जाने प्रस्ताव राख्यो । मुनाले हुन्छ भनेर स्वीकृति जनाई । धनमायाले आफू पनि पुस्तकालय जान चाहेको बताई । हर्कबहादुरले उनीहरूसित पुस्तकालय आउनुको कारण सोध्यो ।
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : [५] आजको विश्वमा मानव जातिका लागि मानव अधिकार भन्ने कुरा अपरिहार्य विषय बन्न पुगेको छ । मानव अधिकारको अभावमा मानिसको वैयक्तिक विकास सम्भव छैन । जब एउटा नागरिक आफ्ना अधिकारहरूबाट वञ्चित हुन्छ तब त्यसको असर समाज र राष्ट्रले समेत भोग्नुपर्ने हुन्छ । मानव अधिकार कुनै एउटा व्यक्ति वा कुनै एउटा राज्यको मात्र सरोकारको कुरा होइन । यसको सम्मानमा संसारका हरेक व्यक्ति, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्कै सहयोग आवश्यक हुन्छ । आफ्नो मुलुकमा मानव अधिकारलाई सम्मान गर्ने परिपाटी कायम गर्ने कि नगर्ने भन्ने विषयचाहिँ त्यस मुलुकको राज्य व्यवस्था वा सरकारमा निर्भर गर्दछ । यस अर्थमा मानव अधिकारको सम्मान गर्न र त्यसलाई सुदृढ पार्न सरकारकै महत्त्वपूर्ण भूमिका रहने देखिन्छ । जहाँ मानव अधिकारको सम्मान हुँदैन, त्यहाँ लोकतन्त्र पनि हुँदैन । जहाँ लोकतन्त्र हुन्छ त्यहाँ मात्रै मानव अधिकार प्राप्त गर्न सहज हुन्छ । मानव अधिकारलाई गौण विषय ठानेर त्यसको बेवास्ता गर्दै लोकतन्त्रको कुरा गर्नु निरङ्कुशतालाई आत्मसात गर्नु हो । आज पनि विश्वका कतिपय मुलुकमा प्रजातन्त्र वा लोकतन्त्रको नाममा मानव अधिकारको अवहेलना गर्ने कार्य भएको पाइन्छ । मानव अधिकारप्रति सम्मान दर्साउने प्रजातान्त्रिक संविधानको निर्माण भए तापनि व्यवहारमा त्यसको पालना नगरिएका उदाहरणहरू प्रशस्तै पाइन्छन् । संविधानमा मात्रै मानव अधिकारको प्रतिबद्धता जाहेर गरेर वास्तविक रूपमा मानव अधिकारको सम्मान हुन सक्दैन । मानव अधिकारको पूर्ण सम्मानका लागि प्रजातान्त्रिक संविधानअनुसार स्थापित हुने सरकारको कार्यशैली पनि प्रजातान्त्रिक हुनु अत्यावश्यक छ । प्रश्नहरू : (क) मानव अधिकार किन आवश्यक छ ?
(ख) मानव अधिकारको सम्मान कसको सरोकारको विषय हो ?
(ग) प्रजातन्त्र र मानव अधिकारका बिचमा कस्तो सम्बन्ध हुन्छ ?
(घ) मानव अधिकारको सम्मानका लागि सरकारले के गर्नु आवश्यक छ ?
(ङ) मानव अधिकारको अवहेलना हुन नदिन कुन कुरामा ध्यान दिनु आवश्यक छ ?
दिइएको अनुच्छेद पढी मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र एकतृतीयांशमा सारांश लेख्नुहोस् : [२+३] पाठ्यक्रम शिक्षाको मूल आधार भएकाले यसकै आधारमा सम्पूर्ण शैक्षिक क्रियाकलापहरू सञ्चालन गरिन्छन् । पाठ्यक्रममा शैक्षिक उद्देश्य, विषयवस्तुको छनोट, शैक्षिक सामग्री, शिक्षण प्रक्रियाको निर्माण र मूल्याइक प्रक्रियाको किटान गरिएको हुन्छ । पाठ्यक्रममा विद्यार्थीको जीवनमा परिवर्तन ल्याउने सिकाइ अनुभवलाई एकीकृत गरिएको हुन्छ । यस्ता अनुभव विद्यार्थीले सिक्नसकेको थाहा पाउन र त्यसको अनुगमन गर्नका लागिसमेत पाठ्यक्रममा आवश्यक योजना बनाइएको हुन्छ । पाठ्यक्रमकै माध्यमबाट शिक्षकले विद्यार्थीको रुचि र चाहनाअनुसारका सिकाइ अनुभव प्रदान गर्दछन् भने विद्यार्थी त्यस्ता अनुभव सिकी आफ्नो चौतर्फी विकास गर्छन् । पाठ्यक्रममा शिक्षाको राष्ट्रिय उद्देश्य, तहगत, कक्षागत र विषयगत उद्देश्य, सिकाइको न्यूनतम उपलब्धि, स्तरअनुकूलको समसामयिक विषयवस्तु, समुदायको चाहना आदि व्यापक विषय समेटिएका हुन्छन् । पाठ्यक्रमकै गुणस्तर, प्रभावकारिता र कार्यान्वयनका आधारमा शैक्षिक जनशक्ति तयार हुन्छ र तिनले समाज र राष्ट्रको अगुवाइ गर्ने हुँदा राष्ट्रको भूत, वर्तमान र भविष्य पनि पाठ्यक्रममै निर्भर रहन्छ । यस दृष्टिले हेर्दा पाठ्यक्रम शिक्षण सिकाइ प्रक्रियाको एक अनिवार्य र अपरिहार्य तत्त्व हो ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) हालै बजारमा आएको 'मयुर' नामक साहित्यिक पत्रिकाको प्रचारप्रसारका लागि आवश्यक पर्ने विज्ञापनको नमुना तयार पार्नुहोस् । (ख) सुन्दरनगर सामुदायिक वन उपभोक्ता समिति, फापाले वार्षिकोत्सवका अवसरमा गर्न लागेको बृहत् वृक्षरोपण कार्यक्रमको बैठक निर्णय तयार पार्नुहोस् ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [५] (क) तपाईं संलग्न कुनै सामाजिक संस्थाले सम्पन्न गरेको एकदिने सरसफाइ कार्यक्रमलाई समेटी १५० शब्दसम्मको प्रतिवेदन लेख्नुहोस् । (ख) 'सामाजिक सञ्जालको दुरुपयोग' शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
कुनैको व्याख्या गर्नुहोस् : [४] (क) हो, त्यो आउँछ,
त्यो विहानको सूर्य छैँ उज्यालो छदैँ आउँछ । (ख) वास्तवमा सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो ।
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) दिइएको कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
तिनले चारैतिर हेरिन् । टाढा पूर्वितर पातलो जङ्गलको पारि केही छाप्रा रहेजस्तो तिनलाई लाग्यो । तीन दिनदेखि नरनारीको मुखसम्म नदेखेकी दमयन्तीमा मानिसको सान्निध्यको अनुभवले आनन्द दिन थाल्यो भने आशाका लहर पनि उठ्न थाले । सूर्यास्त हुँदै गयो । टाढाका तिनै छाप्रातिरबाट कुखुरा बासेका स्वर तिनले सुनिन् । त्यो स्वरले उल्लासमय मनोदशामा पुगेकी दमयन्तीको मनलाई तिनै छाप्राका नरनारीतिर, मानिसको सामीप्यतिर तान्न थाल्यो । तथापि दमयन्तीले प्रबल आत्मनियन्त्रणलाई अँगालेर खेतका हरिया मुना र किलिला काँचा जौका फारद्धारा भोकलाई शान्त पार्दैँ त्यहीँ ढुङ्गामाथि लम्पसार परिन् । प्रश्नहरू : (अ) दमयन्तीको मनोदशा किन उल्लासमय भयो ?
(आ) माथिको अनुच्छेदमा कस्तो परिवेशको चित्रण गरिएको छ ? (ख) दिइएको संवादांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस् :
नेपालमा थुप्रै जाति छन् । हरेक जातिको आफ्नै प्रकारका परम्परा, संस्कृति, ज्ञान अनुभव छन् । त्यसैले नेपालमा अनेक भाषा छन् । भाषा भनेको मानव पुर्खाको आविष्कार हो । जातिमा जस्तै हरेक भाषामा पनि मानिसका ज्ञान, अनुभव, संस्कृति सुरक्षित हुन्छन् । हामी मानव सभ्यताका कुरा गर्छौं नि । वास्तवमा सभ्यता भनेको जाति, भाषा र संस्कृतिको समष्टि हो । त्यसैले जाति, भाषा, संस्कृतिमा विविधता हुनु भनेको सभ्यतामा पनि विविधता हुनु हो । यसैले जाति, भाषा, संस्कृतिमा विविधता भएको हाम्रो समाज विविध सभ्यताको सङ्गम पनि हो । त्यसैले विविधता आफैँमा सम्पत्ति भएन र ? प्रश्नहरू : (अ) जाति र भाषाभित्र के के कुरा रहेका हुन्छन् ?
(आ) हाम्रो समाज कसरी विविध सभ्यताको समाज हो ?
कुनै एक प्रश्नको उत्तर दिनुहोस् : [४] (क) 'मातृत्व' कथामा सुबोधले ममताका छोराछोरीलाई हप्काउनु उपयुक्त हो वा होइन ? प्रतिक्रिया लेख्नुहोस् । (ख) लेखकका सहयोगी बनेर पाटन पुगेका भरियाहरू भोलिपल्ट डडेल्धुरा जान किन नमानेका होलान् ? 'घनघस्याको उकालो काट्दा' पाठका आधारमा प्रतिक्रिया लेख्नुहोस् ।
कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : [६] (क) 'एक चिहान' उपन्यासका पात्र नानीथकुँ र रञ्जनादेवीका चरित्रको तुलना गर्नुहोस् । (ख) हिकडलेले मानवीय चेतनालाई उचाइमा पुर्याउन के कस्ता कामहरू गरेका छन् ? 'स्टिफन विलियम हिकड' पाठका आधारमा विवेचना गर्नुहोस् ।
कुनै एक शीर्षकमा कस्तीमा २५० शब्दसम्मको निबन्ध लेख्नुहोस् : [६] (क) वनजङ्गलको महत्त्व (ख) स्वस्थ खाना : स्वस्थ जीवन (ग) मलाई मन पर्ने पुस्तक